भोजपुर । एक बर्ष अघि तिम्मा–३ पाङखाङकी राममाया राईलाई खर्च जोहो गर्न निकै मुश्किल पथ्र्यो । आम्दानी गर्ने उपाय कुनै नभएपछि उनलाई ५ जनाको परिवारको गुजारा गर्न निकै कठिन थियो । दैनिक बनिबुत्तो र ज्यालादारी गरेर परिवारको छाक टार्न धौं धौं भएपछि उनलाई परिवारको पालनपोषण गर्न ठुलो पिरलो थियो ।
जीवन गुजारा गर्न समस्या भइरहेको बेला उनलाई गरिवी निवारण कार्यक्रमबाट गठन भएको एक सामुदायिक संस्थाले डेढ बर्ष अघि २५ हजार ऋण दिएपछि उनले बाख्रापालन शुरु गरिन । ऋण सहयोगले बाख्रापालन थालेपछि अहिले घर खर्चको समस्या हटेको छ । गरिवी निवारण कार्यक्रम अन्तर्गत गाउँमा गठन भएको सप्तकन्या सामुदायिक संस्थाबाट ऋण पाएर त्यसैबाट थालेको बाख्रापालन व्यवसायबाट उनको लागि आम्दानीको ढोका खुल्यो ।
शुरुमा उनले ५ वटा बाख्रा खरिद गरेकी थिइन । ५ वटा बाख्राबाट अहिले आएर उनको खोरमा २५ वटा बाख्रा छन । अहिले आएर उनी गाउँमा नमुना किसान भएकी छिन । ‘बाख्रापालन शुरु गरेयता घर खर्च चलाउन सहज भएको छ ।’ उनी भन्छिन् ‘कम मेहनत र लगानीमा राम्रो आम्दानी गर्न सकिनेछ’ । बाख्रापालनबाट राम्रो आम्दानी हुने भएपछि आफुले बाख्रापालन शुरु गरेकी बताउँछिन ।
बाख्रापालन र त्यसबाट उत्पादन भएको खसी बोका बोचेर छोराछोरीको पढाई खर्चको लागि सहज भएको बताउँछिन । ‘बाख्रापालनबाट यति धेरै आम्दानी गर्न सकिन्छ भन्ने मैले सोचेकी थिइन’ राममायाले भनिन् ‘मेहनत र परिश्रमले मेरो बाख्रापालन राम्रो भयो’ । हाल गाउँमा सस्तो मुल्यमा बेच्दा पनि ६ लाख बराबरको आफुसंग बाख्रा रहेको उनी बताउँछिन । ‘परिवारको गुजारा गर्न र छोराछोरीको पढाई खर्चका लागि कडा ज्यालादारी मेहनत गर्नुपर्ने अवस्था हटेको छ’ उनले भनिन् ।
बाख्रापालनबाट गरेको आम्दानीबाट नियमित बचत समेत गर्दै आएकी छिन । ‘बाख्रा बेचेर आएको आम्दानीबाट घरको खर्च र छोराछोरीको पढाई खर्चबाट बचेको सबै पैसा बचत गर्ने गरेकी छु’ उनले भनिन् । अन्य ठाउँमा ज्यालादारी गर्दै आएका पतिलाई पनि घरैमा बोलाएर बाख्रापालनको काममा लगाएको उनले बताइन । ‘जीवनमा अरुको मजदुरी गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा राम्रो हुने रहेछ’ उनले भनिन् । उनले आफ्नो ५ रोपनी पाखाबारीमा डालेघाँस लगाएकी छिन । बाख्रालाई बिहान र बेलुकी डालेघाँस दिने गरेको र दिउँसो सामुदायिक बनमा चराउन लाने गरेको बताइन । ‘बाख्रापालन गर्न एकदमै सजिलो छ’ उनी भन्छिन् ‘दिउसो जंगलमा लगेर छोडेपछि बुलुकी अघाएर बाख्रा आफै आउने गरेको छ । दिउसो अरु काम गर्न पनि भ्याउन सकियो ।’
मितेरी नेपालद्धारा सञ्चालिन गरिवी निवारण कार्यक्रमले गरिव तथा विपन्न घरपरिवार पहिचान गरी उनीहरुको आर्थिक अवस्था उकास्न ऋण लगायत विभिन्न सहयोग गर्न थालेपछि गरिव घरपरिवार आत्मनिर्भर बन्दै गएको छ । कार्यक्रमले जिल्लाका विभिन्न गाविसमा आयआर्जन तथा पूर्वाधार निमार्णमा काम गरिरहेको मितेरी नेपालका कार्यक्रम संयोजक सुवास श्रेष्ठले बताए । आयआर्जन र पूर्वाधार निमार्ण जस्ता कामले गरिव घरपरिवार लाभान्वित हुदै आएको श्रेष्ठ बताउँछन ।

तपाईको प्रतिक्रिया