भदौ १४-झापा

कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेलाई जातीय विभेद गर्दै कुटपिट गरिएको घटनामा प्रहरीले असहयोग गरेको दलित अधिकारकर्मीले आरोप लगाएका छन् । झापा चारआलीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विभिन्न बहाना बनाउँदै प्रहरीले फितलो अनुसन्धान गरेको बताएका हुन् ।

सात महिनाकी गर्भवती चन्द्रकला र उनका श्रीमान् सुमन खातीलाई ८ भदौमा मेचीनगर– १३ चारआलीमा छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले निर्घात कुटपिट गरेका थिए । श्रेष्ठदम्पतीले स्थानीय राजन दर्जीलाई जातीय रूपमा होच्याउँदै कुटपिट गर्दा चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । सोही क्रममा चन्द्रकला र उनका श्रीमान् सुमनलाई उनीहरूले कुटपिट गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीले प्रहरीकै खेलाडीमाथि कुटपिट हुँदा जातीय विभेद नभएको बताउँदै अनुसन्धान गर्न आनाकानी गरिरहेको अधिकारकर्मीले बताएका छन् । घाइते चन्द्रकला पाँच दिन अस्पताल बसेर शुक्रबार घर फर्किएकी छन् । ‘उपचारपछि पनि शरीर कमजोर छ । डाक्टरले पेटको बच्चालाई ठीक छ त भनेका छन्, तर ढुक्क हुने अवस्था छैन । धेरै पेट दुख्यो भने सिजर गर्नुपर्छ भनेका छन्,’ चन्द्रकलाले भनिन् ।

जातीय रूपमा तुच्छ शब्द प्रयोग गर्दै उनीमाथि भएको कुटपिटबारे प्रत्यक्षदर्शीले बयान दिँदा पनि इलाका प्रहरी धुलाबारीका निरीक्षक कैलाश चौधरीले मुद्दा कमजोर बनााउन खोजेको दलित अधिकारकर्मी हुकुमसिंह नेपालीले बताए । ‘इन्स्पेक्टर सा’बले जातीय विभेद होइन भन्नुहुन्छ,’ उनले भने, ‘उहाँ यो घटना जातीय नभई कुटपिट र अभद्र व्यवहारको मात्र हो भन्नुहुन्छ ।’

इलाका प्रहरी कार्यालयले सुरुमै चन्द्रकलामाथि अभद्र व्यवहारमा उजुरी दर्ता गराएको थियो । ‘हामीले जातीय विभेद भयो भनेर सबै टिपाउँदा पनि प्रहरीले अभद्र व्यवहारमा जाहेरी लेखेको थियो,’ मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरू परियारले भनिन्, ‘निरन्तर दबाब दिएपछि मात्र जातीय विभेदमा मुद्दा दर्ता भयो । यसका लागि ठूलै प्रयत्न गर्नुपऱ्याे ।’

प्रहरी निरीक्षक चौधरीले कानुनको अपव्याख्या गर्दै मुद्दा चलाउन कमजोर भूमिका देखाएको अधिकारकर्मी सुरेश बराइलीले बताए । ‘इन्स्पेक्टर सा’बले जातीय विभेद होइन भन्ने प्रमाणित गर्ने प्रयत्न गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँले हामीलाई पीडितलाई कारबाही हुन्छ ढुक्क हुनुस् भन्न पनि सक्नुभएन ।’

‘राजनलाई त दुर्गाले धेरै पहिलादेखि त्यस्ता शब्द प्रयोग गर्दा रहेछन् । राजनले सामान्य रूपमा लिएका रहेछन्,’ प्रहरी निरीक्षक चौधरीले नयाँ पत्रिकासँग भने, ‘यो जातीय विभेद भएको भन्न मिल्दैन कि !’

जातीय तथा अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय ऐन–२०६८)मा जातीय रूपमा होच्याउने शब्द प्रयोग गरेर गालीगलौज गर्दा के हुन्छ भन्ने स्पष्ट नभएकाले त्यसमा मुद्दा चलाउँदा कमजोर हुन सक्ने चौधरीले बताए ।

‘कहीँ पनि गालीगलौजको कुरा भेटिनँ, भरसक मुद्दालाई दह्रै बनाएर जाउँ भन्ने हो,’ उनले ऐन देखाउँदै भने, ‘यो मुद्दा चलाउँदा मुद्दा कमजोर हुन्छ कि !’

जिल्ला प्रहरी कार्यालय झापाले भने पीडितले न्याय पाउने गरी अनुसन्धान हुने जनाएको छ । जिल्ला प्रहरीका डिएसपी राकेश थापाले अनुसन्धानलाई बलियो बनाउन पर्याप्त प्रमाण बटुल्ने बताए । ‘धुलाबारीका प्रहरी निरीक्षकले के भन्नुभयो भन्दा पनि यो घटनामा पीडितले न्याय पाउनुहुन्छ । उहाँ त हाम्रो संगठनको पनि हुनुहुन्छ,’ उनले भने, ‘घटनाका धेरै प्रत्यक्षदर्शीको बयान लिन्छौँ । जाहेरीकै आधारमा मुद्दालाई दह्रो बनाएर जान्छौँ ।’

पैसामा मिल्न दबाब
यसैबीच, श्रेष्ठदम्पती पक्राउ परेसँगै पैसाको प्रलोभन देखाउँदै आफूहरूलाई मिल्न दबाब आइरहेको चन्द्रकलाका श्रीमान् सुमनले बताए । ‘फोन आइरहेको छ । कसैले पैसाको प्रस्ताव गर्छ । कसैले केही भनेर दबाब दिइरहेका छन्,’ उनले भने ।

पैसाको दबाबमा कुनै पनि हालतमा नमिल्ने चन्द्रकलाले बताइन् । ‘पैसाको लोभ छैन । म पैसामा लोभिएँ भने मजस्ता धेरै दलित मर्नुपर्छ । अनायासै यत्रो कुटाइ खाएँ । उनीहरूलाई कानुनी कारबाही गरेर मात्र छाड्छु,’ उनले भनिन् । चन्द्रकलाको उपचारमा ५६ हजार रुपैयाँ खर्च भएको छ । नेपाल एथ्लेटिक्स संघले २१ हजार रुपैयाँ सहयोग गर्ने बताएको छ ।

हाजिर गर्न दबाब
लकडाउनपछि पुलिस क्लबले खेलाडीलाई बिदा दिँदा नजिकको प्रहरी कार्यालयमा सम्पर्क काज तोकेको थियो । चन्द्रकलाको सम्पर्क काज इलाका प्रहरी कार्यालय धुलाबारी तोकिएको थियो ।

श्रेष्ठदम्पतीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएकी चन्द्रकलालाई इलाका प्रहरी धुलाबारीले तत्काल हाजिर हुन आदेश दिएको खुलेको छ । जब कि उनका श्रीमानले त्यही कार्यालयमा जाहेरी दर्ता गरेका थिए । ‘प्रहरी कार्यालयबाट फोन आयो । उनी बेड रेस्टमा भएकाले उनको फोन मसँग थियो । तुरुन्त हाजिर गर्न पठाउनु भनेर खबर गरे,’ सुमनले भने ।

प्रहरी निरीक्षक चौधरीले भने प्रशासन शाखालाई जानकारी नभएकाले फोन गएको दाबी गरे ।

तपाईको प्रतिक्रिया