काठमाडौँ : थ्री नेशन्स सिरिज अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने दाउमा रहनेछ।

खेल साँझ साढे ५ बजे सुरु हुनेछ। यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १–० ले विजयी भएको थियो।

किर्गिस टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले भने फाइनल पुग्न बंगलादेशसँग पनि कम्तिमा बराबरी गर्नुपर्ने हुन्छ। यदि हार व्यहोरेको खण्डमा खेलको समीकरणमा भर पर्नुपर्ने हुन्छ।

नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेका दुई मैत्रीपूर्ण खेलमा सन्तोषजनक नतिजा निकाल्न सकेको थिएन। गत वर्ष नोभेम्बर १३ मा बंगलादेशमा भएको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो। त्यस्तै नोभेम्बर १७ मा भएको दोस्रो खेलमा नेपालले गोलरहित बराबरी गरेको थियो।

फिनिसिङमा कमजोर मानिदै आइएको नेपाल आज बंगलादेशमाथि जित निकाल्ने दबाबमा रहेको छ। सिरिजको फाइनल खेल सोमबार हुनेछ।

तपाईको प्रतिक्रिया