सुमित भण्डारी

दमक– जेष्ठ ०२ / झापाको दमकमा रहेको मेची सहकारी संस्थाले आफना सदस्यहरुलाई लक्षित गरेर सहकारी नमुना वस्तीको निर्माण कार्य धमाधम गरिरहेको छ । घर नभएका तथा एकमुष्ट रकम निकाल्न असहज हुने सदस्यहरुलाई लक्षित गरी उक्त सहकारी नमुना वस्तीको अवधारणा ल्याईएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

खास गरेर यस सहकारी संस्थामा रहेका निम्न आय भई डेरामा बसोबास गरी आउने सदस्यहरुले आफुले घरधनीलाई बुझाउँदै आएको मासिक भाडामा केहि रकम थप गरी मासिक किस्ता बुझाउन सकेमा एकदिन उक्त रकमले आफना सदस्यहरुलाई घर मालिक बनाउन सकिने योजना अनुरुप सहकारीले यो आयोजनाको शुरुवात गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

संस्थाका सह–ब्यवस्थापक तथा सूचना अधिकारी चन्द्र प्रसाद थापाले जानकारी दिए अनुसार, दमक–०४ मा संस्थाको नाममा रहेको १ बिगाह १६ कठ्ठा जमिनमा ५२ वटा घर निर्माण संग–सँगै उपयुक्त बाटो, ढल, खानेपनी, टेलिफोन सहित आवश्यक पुर्वाधार निर्माण भईरहेको र पुरै सहकारी वस्ती वरिपरी सिंगो कम्पाउण्ड वाल तथा प्रत्येक घरमा निजी कम्पाउण्ड वाल समेत रहने छ ।

शुरुवाती चरणमा सदस्यहरुले घर बुकिंग गर्दा आफुले रोजेको घरको मूल्यको १५ प्रतिशत रकम संस्थामा जम्मा गर्नुपर्ने र बाँकी रहने रकम संस्थाले २० वर्षे अवधि सम्म भुक्तानी गर्न मिल्ने गरि सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त कर्जा लाई मासिक किस्ताबन्दिको रुपमा सदस्यहरुले भुक्तानी गनुपर्ने छ । संस्थाको कर्जा विभाग प्रमुख मेघराज राउतले बताए ।

अहिले उक्त सहकारी नमुना वस्ती धमाधम निर्माण भईरहेको छ । सकेसम्म आफना सदस्यहरुलाई सहकारीको माध्यमबाट सदस्यहरुको जीवन स्तरमा परिवर्तन ल्याई डेरावाल बाट घर मालिक बनाउनु मुख्य उदेश्य रहेको समेत सस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले प्रष्ट पार्नुभयो ।

 

तपाईको प्रतिक्रिया