हिक्मतकुमार कार्की

झापा :विश्वभर २०१९ को अन्त्यदेखी फैलिएको नोबल कोरोना भाईरस (कोभिड–१९)को महामारीको पहिलो लहर हाम्रो देश नेपालमा पनि देखा पर्यो । ०७७ बैशाखबाट कात्तिकसम्म लाखौं मान्छेमा संक्रमण भएर करिब २ हजार मान्छेको मृत्यु समेत भयो । त्यस अवधिमा नेपालले यसको रोकथाम, नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गर्न सफल भयो । यसको नियन्त्रणमा सबै भन्दा भरपर्दो विधि स्वास्थ्य सतर्कता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्ड निक्कै कामयाबी भएको थियो । सबैभन्दा बढी संक्रमणको चेन ब्रेक गर्न लकडाउन प्रभावकारी बन्यो ।

 

तर ०७७ मंसिरबाट संक्रमणमा कमि आएसँगै हामी हाम्रा नियमित काममा फर्किने प्रयास गर्दै थियौं । पुनः गत फाल्गुनदेखी दोस्रो लहरको कोरोना संक्रमण फैलिएको हल्ला विश्वबजारमा चल्न थाल्यो । छिमेकी मुलुक भारतमा दिन दुई गुणा, रात चौगुणाका दरले संक्रमण बढ्न थाल्यो । संक्रमण बढेसँगै दोस्रो लहरको भाईरस केही फरक रुपमा देखिएको विश्लेषण गरियो । सँगै संक्रमितको मृत्यु दर पनि ह्वात्तै बढ्न थाल्यो ।

 

चैत्रमा नेपाल छिरेको यो लहर बैसाखका सुरुवाती दिनमा नै गुणात्मक ढंगले संक्रमण दर बढ्यो । सँगै मृत्यु दर पनि संक्रमितको २ प्रतिशतका दरले देखिन थालेको छ। पछिल्लो लहरको प्रभाव युवा ,केटाकेटीमा समेत देखा परेको छ । मृत्यु पनि युवा उमेर समूहकै बढी देखिएको छ । त्यसैले खोपको पुर्ण विकास भएर सबैका निम्ति खोप प्राप्त नहुन्जेल सतर्क र सजग हुनुपर्छ ।

 

यसको प्रभाव अझै २-३ वर्ष रहने अनुमान विज्ञहरुले गर्न थालेका छन् । विश्व स्वास्थ्य संगठनले पनि यसको प्रभाव २०२४ सम्म रहने अनुमान गरेको छ । त्यसैले सबै नेपालीले खोप प्राप्त नगरुन्जेल यो भाईरसको संक्रमणबाट जनताको स्वास्थ्य बचाउन राज्यले सबै प्रकारका प्रयास गर्न जरुरी छ।

 

संक्रमणको चेन ब्रेक गर्न सामाजिक दूरी कायम गर्ने, संक्रमित ब्यक्तिलाई आईशोलेसन केन्द्रमा राख्ने, चिकित्सकको परामर्श उपलब्ध गराउने र अस्पतालमा बैकल्पिक उपचार शुरुमै पुर्‍याउन जरुरी छ। नत्र पछिल्ला घट्नाक्रम हेर्दा मृत्यु दर अझै उच्च हुने देखिन्छ। अहिले १/२ दिन देखि निको हुने संख्या बढेको र संक्रमित हुने संख्या कमि भएको आँकलन गर्दै, समाचार र सामाजिक सञ्जालमा खबरहरु आईरहेका छन्। निको हुने संख्या बढेको पक्कै हो, किनकी यस संक्रमण बाट संक्रमित ८० प्रतिशत भन्दा बढी ब्यक्तिले २ हप्तामा स्वास्थ्य लाभ गर्ने भएकाले निको हुनेको संख्या बढ्छ नै । तर टेष्ट कीट अभाव वा अन्य प्राबिधिक कारण कहिले काँही परिक्षण कमि भए संक्रमितको संख्या पनि कम देखिन सक्छ। त्यसैले संक्रमणको दरको घटेको निष्कर्ष निकाल्ने काम अलि हतार हुनेछ। हतारमा निष्कर्ष ननिकालौं ।

 

यस भाईरस बाट बच्न पूर्ण खोप वा पूर्ण उपचार विधिको विकास नहुन्जेलसम्म उच्च स्वास्थ्य सावधानी अपनाउनु नै उत्तम र उपयुक्त विधि हो। मास्क र स्यानिटाईजरको प्रयोग, बारम्बार साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, शरिरको ईम्युन पावर बढाउने, प्राकृतिक खानपिन गर्ने, वाफ लिने, तातोपानीले घाँटी गारगिल गर्ने, तातो पानि पिउने, चिसो (खासगरी फ्रीज भित्रको चिसो) चिज सेवन नगर्ने, नियमित शारीरिक ब्यायम गर्नुजस्ता काम नै स्वास्थ्य सावधानी अपनाउनु हो । कन्ट्याक्ट् ट्रेसिङमा परे, प्रारम्भिक लक्षण देखिए र संक्रमण भए तुरुन्त स्वास्थकर्मी वा अस्पतालमा सम्पर्क गरिहाल्नु बुद्दिमानी हुनेछ ।

 

सरकारले सरकारी, वा प्राईभेट दुबै प्रकृतीका अस्पतालमा उपचारको ब्यवस्थापन गर्ने गरि काम गरिरहेकै छ। यस्तो महामारीमा एकै पटक हजारौं र लाखौमा संक्रमण हुँदा अस्पतालमा शैंय्या, चिकित्सक र स्वास्थ्य साम्रागीको अपुग हुनसक्छ । यस्तै अन्य प्राविधिक समस्या पनि आउन सक्छन् । त्यो कुरालाई राज्यले र सम्बन्धित ब्यवस्थापन गर्ने पक्षले समयमै उचित ब्यबस्थापन गर्नुपर्छ । जनताको सुरक्षा र स्वास्थ्य सुरक्षा राज्यको न्युनतम दायित्व हो । यसबाट राज्य उम्किन वा भाग्न सक्दैन ।

 

यो महामारी एउटा असाध्य असाधारण अवस्था हो । यस्तो बेला कहिलेकाहीँ सामान्य समस्या आउन सक्छ । ब्यवस्थापनमा केही त्रुटि हुन सक्छन् । यो नै मूल पक्ष होईन । यसैलाई आधार बनाएर वा सामान्य त्रुटिलाई हाईलाईट गरेर आफ्नो दायित्व नै नभए जस्तो प्रचारबाजि गर्ने कुरा गलत हो । अहिले सबैले जिम्मेवार भएर उचित ब्यवस्थापन गर्न सक्दा अब अस्पतालमा बेड, अक्सिजन वा प्रयोगमा आएका बैकल्पिक मेडिसिनको कमि हुदैन । राज्य यसकालागि सक्षम छ। यो सन्देस वा प्रत्याभुती राज्यले गराउनुपर्छ । ब्यक्ति, संस्था वा निजि क्षेत्र सबैले सहयोग गर्नु पर्छ र राज्य वा सम्बन्धित क्षेत्रले सहयोग लिन सक्नुपर्छ।

 

नेपाल जस्तो भौगोलिक, जनसांख्यीक अवस्था, आर्थिक अवस्था र प्राबिधिक जनशक्ति भएको देशमा अहिलेसम्म कोभिड नियन्त्रणमा भएको प्रयास केही सानातिना त्रुटि कमजोरी बाबजुद सामान्य अवस्थामा नै छ । हो यस बिचमा हामीले निक्कै आफन्त र नेपाली नागरिक गुमाएका छौ, यो अत्यन्तै दुखःद अवस्था हो । त्यसैले हामी सबै यस्तो विपदमा सबैभन्दा पहिला मानव हौं, अनि नेपाली हौं भन्ने हेक्का राख्नुपर्छ ।

 

तसर्थ मानवीय र नेपाली हुनुका नाताले हामी जो जहाँ छौ, कोभिड महामारि नियन्त्रणमा जिम्मेवार बनौं । सबैको सामूहिक प्रयासमा मात्र महामारी नियन्त्रण सम्भव छ । त्यसैले सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिले भन्नु भए जस्तै प्रशासनिक वा प्राबिधिक उल्झन हटाएर हप्तामा गर्ने दिनमा र दिनमा गर्ने काम घण्टामा नै सम्पादन गर्न आवश्यक छ ।  यो महामारीमा चुस्त दुरुस्त कार्य सम्पादन गर्नु राज्य र सम्बन्धित पक्षको कर्तब्य हो भन्ने हेक्का राख्न जरुरी छ । आफू पनि बचौं, अरुलाई नि बचाऔं । धन्यवाद ।

लेखक: प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया