प्रधानमन्त्रीले भोलि बिहीबारदेखि १० देखि १२ गते सम्मको अनुकूल समयमा वार्तामा बस्न सम्बन्धित दल र संस्थालाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

पत्रमा प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व सम्पन्न गर्ने अन्तिम चरणमा आइपुगेको उल्लेख गर्दै भनेका छन्र, ‘संविधानसभाभित्रको वहससँगै संविधानका विषयवस्तु उपर देशव्यापी छलफल र प्रतिक्रिया पनि गम्भीर रुपमा प्रकट भइरहेका छन् । यो ऐतिहासिक क्षणमा संविधानका विषयमा व्यापक जन अभिरुची प्रकट हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया हो ।’

प्रधानमन्त्री कोइरालाले यस्तो महत्वपूर्ण र निर्णायक क्षणमा केही राजनीतिक दल र संस्थाहरु संविधानसभा भित्रको बहस भन्दा संविधानसभा बाहिरको आन्दोलनमा ब्यस्त भएकोमा चिन्ता प्रकट गर्दै भनेका छन्, ‘देशका कतिपय भागमा भएका आन्दोलनले हिंसात्मक रुप लिएको तथा जनधनको समेत क्षति भएको कारणले मलाई अझ बढी चिन्तित तुल्याएको छ । ठूलो प्रयत्न र प्रतीक्षा पछि संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हिंसा,हत्या र अराजकता निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित हुँदैन ।’

तपाईको प्रतिक्रिया