झापा : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

उनका अनुसार जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।

नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उहाँले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने घोषणा गरेकी छिन् । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।

गर्भवती महिलाहरूलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस सङ्क्रमणले गम्भीर रूप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।

शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकाले गर्भवती महिलाहरूलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भारत, अमेरिका र बेलायतमा पनि प्रसूतिसम्बन्धी चिकित्सकहरूका विभिन्न संस्थाहरूले यसलाई प्रयोग गर्न सुझाव पेश गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया