बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेस गरेको छ। माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत र्पुयाएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए । सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी पेस गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दीन खानले जानकारी दिए ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४२ पुगेको छ । मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क) बाट निर्वाचित हुन् । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने जनाए ।

प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ। गठबन्धनबीच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया