काठमाडौँ : आजदेखि पशुपतिनाथ मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि खुला गरिएको छ। कोरोना संक्रमणका कारण करिब चारमहिना पछि भक्तजनका लागि मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार क्षमापूजा गरेर आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।

‘‘मूल मन्दिर परिसर आज विहान साढे ५ बजेदेखि खुला गरिएको छ । स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गनुपर्ने छ । अहिले कोरोना संक्रमण फैलने जोखिम कायमै रहेकाले दिउँसो १ बजेसम्म मात्रै मन्दिर खुला गरिनेछ,” उनले भने । कोषका अनुसार एकपटकमा २५ जनाभन्दा धेरै भक्तजनलाई मन्दिर प्रवेश गराइने छैन ।

यसका लागि कोषले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया