जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असोज पहिलो साताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४–५ गतेभित्र सरकारले पूर्णता पाउने पनि बताए ।
उनले बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तार नअड्किएको पनि दाबी गरे । सत्ता गठबन्धनमा कुनै विवाद नभएको भन्दै गठबन्धन देश र जनताको लागि बनेको उनले बताए ।

प्रचण्डले एमसिसीभन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उनले आफूहरूका लागि एमसिसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।’ उनले माओवादी केन्द्र एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डले केपी ओलीको प्रधानमन्त्रीकालमा तत्कालीन अर्थमन्त्रीले एमसीसी बिगारेको आरोप लगाए ।
तत्कालीन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेको उनको भनाइ थियो । ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो ओरिजिनल थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो’ उनले भने ।

तपाईको प्रतिक्रिया