काठमाडौँ : टी–२० विश्वकप क्रिकेट सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सोमबार भएको प्रतिस्पर्धामा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले शानदार जित हासिल गरेको हो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १० ओभर २ बलमा मात्र ६० रन बनाउन सक्यो ।

स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए । यस्तै कप्तान केली कोट्जरले १० रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट लिए । राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए ।

मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए । स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले १/१ विकेट लिए । जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया