दमक/ झापाको दमकमा प्रधान कार्यलय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो रजत महोत्सवको अवसरमा प्रदेश स्तरिय गोष्ठी आयोजना गरेको छ ।

गोष्ठिमा नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका छन् । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुन सक्ने धारणा राखे ।

कार्यक्रममा नेपालमा विद्यमान सहकारी कानून र कार्यान्वयनका चुनौती विषयमा बागमती प्रदेश, सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले कार्यपत्र पेश गर्नु भएको थियो । सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीको अध्यक्षतामा भएको सो शत्रमा सहकारी अगुवा रामचन्द्र उप्रेतीले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो ।

यस्तै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमारी थाम्सुहाङ्ले सहकारी अभियानको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयको कार्यपत्र पेश गर्नु भयो । यस्त कार्यपत्रमाथि सहकारी अगुवा रमेशप्रसाद पोखरेलले टिप्पणी गर्नु भयो भने खेम पाठकको अध्यक्षतामा सो शत्र सञ्चालन भएको थियो ।

२०५४ सालमा २९ जनाबाट एक लाख ४५ हजार रुपैयाँबाट शुरु भएको संस्थामा हाल करिब १२ हजार सदस्य आवद्ध छन् भने करिब ३४ करोड शेयर पुँजी पुगेको छ । संस्थाका अध्यक्ष नारायण भट्टराईले रजत बर्षको अवसर पारेर आफ्नो उपलब्धीलाई अभियानले स्वामित्व लिनेगरी मनाएको बताए । सहकारी अभियानका महत्वपूर्ण व्यक्तित्वहरुको भेलापछि उत्साहित हुँदै अध्यक्ष भट्टराईले भने, ‘हालसम्मको हाम्रो उपलब्धीलाई साक्षात्कार गराउन हामी सफल भएका छौं ।’

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सदस्य र समुदाय केन्द्रित भई संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

पूर्वी नेपालकै बढि कारोवार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकिकृत बस्तिको योजना समेत सञ्चालन गरि रहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो । सदस्यलाई घर उपलब्ध गराउने कार्यक्रम अन्तर्गत संस्थाले नमुना आवास आयोजना संचालन गरेको छ । दमकमै अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्र स्थापना गरेको छ । १२ विगाहा जग्गामा संचालन सो उद्योगमा संस्थाको ४० प्रतिशत लगानी छ । संस्थाले सदस्यलाई उपचार खर्च, काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहतलगायतका सेवा सुविधासमेत दिएको छ । हजारौ सहकारीकर्मीले सो सहकारीको अवलोकन भ्रमण समेत गर्दै आएका दाहालले बताउनु भयो ।

दुई दिन चल्ने कार्यक्रम शुरु हुनु अघि प्रभात फेरी निकालिएको थियो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता र सहकारी अभियन्ता एवम् पूर्वगृह राज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा शुरु भएको  कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, महासंघका अध्यक्ष मिनराज कडेल, निवर्तमान अध्यक्ष केशव बडाल, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको समेत सहभागी हुने बताइएको छ । सो गोष्ठीमा प्रदेश १का जिल्लास्तरीय संघ, स्थानीय सरकार तथा संस्थाहरुका प्रतिनिधिको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया